काठमाडौँ - जर्मन क्लब इन्ट्राच फ्रान्कफुर्ट युईएफए युरोपा लिग च्याम्पियन बनेको छ। बुधबार राति भएको फाइनल खेलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै फ्रान्कफुर्टले दोस्रोपटक युरोपा लिगको उपाधि जितेको हो।
निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको विजेताको टुंगो नलागेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियाे। पेनाल्टी सुटमा फ्रान्कफुर्टलाई जीत दिलाउन क्रिस्टेफोर लेन्ज, अज्डिन ह्रुस्टिक, डाइची कमान्डा, फिलिप कोस्टिक र राफायल सन्तोषले गोल गरेका थिए।
रेन्जर्सको लागि जेम्स टाभेरनिर, स्टेभेन डेभिस, स्कोट अर्फिल्ड र केमा रोफिले गोल गर्दा एरोन राम्से चुके। यसअघि सेभिल्लामा भएको खेलको ५७ औं मिनेटमा जोए अरिबोले गोल गर्दै रेन्जर्सलाई शुरुवाती अग्रता दिलाएका थिए।
६९ औं मिनेटमा कोस्टिकको पासमा राफायलले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा ल्याएका थिए। बाँकी निर्धारित र अतिरिक्त समयमा थप गोल हुन नसक्दा पेनाल्टी सुटआउटमा पुगेको खेलमा फ्रान्कफुर्ट च्याम्पियन बन्याे।