काठमाडौँ - अघिल्लो वर्षका तुलनामा गत माघ मसान्तसम्म देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व रु. एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ ले घटेको छ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघमा घर जग्गाको कारोबारबाट रु छ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ बराबरको राजस्व सङ्कलन भएको थियो। विभागका अनुसार गत माघ मसान्तसम्म रु. पाँच अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ बराबर राजस्व सङ्कलन भएको छ। बैंक तथा वित्तीय संस्थामा तरलताको अभावका कारण घर जग्गाको कारोबारमा मन्दी आएको छ। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सिबिफिनले पनि घर जग्गामा भएको लगानीलाई अनुत्पादक क्षेत्रको रुपमा टिप्पणी गरेको छ।
यस्तै, नेपाल राष्ट्र बैंकले पनि केही समय पहिले घर जग्गाको कारोबारका बारेमा छ्ट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। विभागका अनुसार देशभर रहेका कूल १२६ मालपोतमध्ये काठमाडौँ उपत्यकामा रहेका नौवटा मालपोत कार्यालयमा हुने घर जग्गाको कारोबारसम्बन्धी विवरण धेरै रहेको छ। गत माघमा देशभर भएका घर जग्गाको कारोबारबाट मात्रै रु. एक अर्ब २६ करोड ५८ लाख ४४ हजार १३४ बराबरको लाभकर उठेको छ।
विभागका अनुसार २०७७ माघमा त्यस्तो कर रु. एक अर्ब ७० करोड ८४ लाख ४० हजार २७४ उठेको थियो। लाभकरसमेत घटेकाले कारोबारमा कमी आएको देखिन्छ।