काठमाडौँ - दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्ड ४१ रनले विजयी भएको छ। यो जितसँगै उसले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। दक्षिण अफ्रिकाले भने सिरिजमा हारबाट सुरुवात गरेको छ।
गएराति सम्पन्न पहिलो खेलमा इंग्ल्याण्डले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९३ रन मात्र बनायो। उसका लागि युवा ब्याटर ट्रिस्टन स्टब्सले आक्रामक पारी खेले पनि जित दिलाउन सकेनन्। उनले २८ बलमा २ चौका र ८ छक्कासहित ७२ रनको आक्रामक पारी खेलेका थिए।
ओपनर रिजा हेन्ड्रिक्सले ३३ बलमा ९ चौका र १ छक्कासहित ५७ रन बनाए। हेनरिक क्लासेन २० र एन्डियो फेहलकवायो २२ रनमा आउट भए। इंग्ल्याण्डका लागि रिचर्ड ग्लेसनले ३, रिस टोप्ली, आदिल राशिदले २/२ र मोइन अलीले १ विकेट लिएका थिए।
त्यसअघि काउन्ट्री ग्राउन्ड बिस्टलमा टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थियो। उसका लागि जोनी बेयरिस्टोले ५३ बलमा ३ चौका र आठ छक्कासहित ९० रनको शानदार पारी खेलेका थिए।
त्यस्तै, अलराउन्डर मोइन अलीले १८ बलमा ६ छक्का र २ चौकासहित ५२ रन जोडे। त्यस्तै, डेविड मलानले ४३, कप्तान जोस बटलरले २२ र जेसन रोयले ८ रनको योगदान दिएका थिए।
दक्षिण अफ्रिका लागि लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन दिएर सर्वाधिक ५ विकेट लिए। इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको दोस्रो टी-२० बिहीबार राति हुँदैछ।