काठमाडौँ - आम निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ। मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए। यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ।
‘देशका ६ हजार ७४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ, स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १८ कात्तिकदेखि १ मंसिरसम्म आयोजना हुनेछ,’ आयोगका सहायक प्रवक्ता अर्यालले भने।
उनका अनुसार केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ। मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक ब्रोसर वितरण गरिने जनाइएको छ। मतदाता शिक्षा कार्यक्रमका लागि त्यसरी खटिने स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउनेछ भने तालिमसमेत स्थानीय तहमार्फत नै प्रदान गरिएको छ।