काठमाडौँ - स्टार अलराउन्डर बेन स्टोक्सको ओडिआई करिअरको अन्तिम खेलमा इंग्ल्यान्ड फिनिसिङ राम्रो गर्न नसक्दा दक्षिण अफ्रिकासँग पहिलो खेलमा ६२ रनले पराजित भएको छ। योसँगै स्टोक्सले ओडिआई करिअरबाट बिदा लिएका छन्।
जितको लागि ३ सय ३४ रनको विशाल विजयी लक्ष्य पछ्याएको घरेलु टोली ४६.५ ओभरमा २ सय ७१ रनमा अल आउट भयो। इंग्ल्यान्डका जो रुटले ७७ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ८६ रनको योगदान दिए। उनी एनरिच नोर्किर्याको बलमा बोल्ड आउट भए।
इंग्ल्यान्डले सुरुवात राम्रो गरेको थियो। ओपनर जेसन रोय र जोनी बेयरस्टोले १९ ओभरमा १ सय २ रनको शतकीय साझेदारी गरे। रोय ६२ बलमा ३ चौका र १ छक्कासहित ४३ रनमा आउट भए। जोनी बेयरस्टो ७१ बलमा ७ चौकासहित ६३ रनमा आउट भए।
अन्तिम खेल खेलेका बेन स्टोक्स ५,जस बटलर १२, लियम लिभिङस्टोन १०, साम करन १८ र मोईन अली ३ रनमा आउट भएपछि हार्न पुग्यो। दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले सर्वाधिक ४ विकेट लिएका थिए। तबरेज शाम्सी र एडेन माक्ररमले २/२विकेट लिए।
त्यसअघि चेस्टर ली स्ट्रिटमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३३ रन बनाएको थियो। दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डुसेनले १ सय १७ बलमा १० चौकासहित १ सय ३३ रनमा बोल्ड आउट भएका थिए। उनको यो ओडिआई करिअरको तेस्रो र अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रदर्शन हो।
पहिलो विकेटका लागि जान्नेमान मलान र क्विन्टन डि ककले ३५ रनको साझेदारी गरेका थिए। डि कक साम करनको बलमा १९ रनमा बोल्ड भए। दोस्रो विकेटका लागि डुसेन र मलानले १ सय ९ रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलमा पुर्याए। मलान ७७ बलमा ५ चौकासहित ५७ रनमा आउट भएका थिए।
तेस्रो विकेटका लागि एडेन माक्ररम र डुसेनले १ सय २२ बलमा १ सय ५१ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरे। यी दुबै ब्याटर स्पिनर लियम लिभिङस्टोनको ४५ औं ओभरको चौथो र छैटौं बलमा आउट भए।
माक्ररम ६१ बलमा ९ चौकासहित ७७ रनमा आउट भए। अन्तिम बलमा डुसेन बोल्ड भएका थिए। डेविड मिलर १४ बलमा ४ चौकासहित २४ रनमा अविजित रहेका थिए। हेनरिक क्लासेन १२ रनमा आउट भए। इंग्ल्यान्डका लियम लिभिङस्टोनले सर्वाधिक २ विकेट लिए। साम करन, बायडन कार्स र मोईन अलीले १/१ विकेट लिएका थिए।
३ ओडिआई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ। दोस्रो खेल म्यानचेस्टरमा शुक्रबार हुनेछ। ३१ वर्षीय बेन स्टोक्सले यसखेलसँगै ओडिआईबाट सन्न्यास लिएका छन्। टेस्टको कप्तान रहँदा टि-२० क्रिकेट खेल्नेछन्। २०१९ मा इंग्ल्यान्डलाई पहिलो एकदिवसिय विश्वकप उपाधि जिताउन बेन स्टोक्स हिरो बनेका थिए।