काठमाडौँ - वेल्सका सुपरस्टार स्ट्राइकर गारेथ बेलले आइतबार राती विश्वकप प्लेअफ फाइनलमा युक्रेनमाथिको रोमान्चक जित राष्ट्रिय टिमको अहिलेसम्मकै सबैभन्दा ठूलो नतिजा भएको बताएका छन्।
खेलको ३४ औं मिनेटमा रियाल मड्रिडका पूर्व स्ट्राइकरको प्रिकिक युक्रेनका कप्तान एन्डिरी यार्मोलेन्कोले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए।
यो नतिजाले वेल्सलाई ६४ वर्षपछि विश्वकपमा पुर्याएको छ। ‘यो वेल्स फुटबल इतिहासको सबैभन्दा ठूलो नतिजा हो,’ बेलले स्काई स्पोर्टससँगको कुराकानीमा भनेका छन्, ‘यसको मतलव सबैथोक हो। यो सपना पूरा भएको क्षण हो। म यति खुसी छु कि केहि बोल्नै सकिरहेको छैन। अहिले हामीले कस्तो महशुस गरिरहेका छौं भनेर शब्दमा वर्णन गर्न सकिन्न।’
वेल्सले विश्वकपका लागि नोभेम्बरमा कतार भ्रमण गर्नेछ। जहाँ उसले समूह ‘बी’मा इंग्ल्याण्ड, अमेरिका र इरानसँग खेल्नेछ।
‘हामीले सम्पूर्ण करिअरमा गरेको कामको उपलब्धी आजको यो नतिजा हो। समर्थक, राष्ट्र, आआफ्नो परिवारका लागि यो सफलता एक अविश्वसनीय उपलब्धी हो। यसका लागि हामीलाई सधैं गर्व रहनेछ,’ बेलले भने।
गोलरक्षक वायने हेन्नेस्सीले एकपछि अर्को शानदार बचाउ गर्दै वेल्सको जितमा सानदार प्रदर्शन गरेका थिए। टिमको प्रदर्शनबारे प्रशिक्षक रब पेजले भनेका छन्, ‘मलाई मेरा खेलाडीप्रति गर्व छ। उनीहरु यसका हकदार थिए। मेरा केटाहरुले विश्वकपलाई सपना बनाएका थिए। अब हामी त्यहाँ पुगेका छौं।’
सिक्काको अर्को पाटो युक्रेनका लागि एउटा ठूलो आशा समाप्त भएको छ। उनीहरु इतिहासमै दोस्रोपल्ट विश्वकप छनोटको सन्निकट थिए।
रुसको आक्रमणबाट प्रताडित युक्रेनी जनतालाई फुटबलबाट खुसी दिने अभियानमा रहेको राष्ट्रिय टिमले अघिल्लो साता प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डलाई पराजित गरेको थियो।
युक्रेनका स्टार अलेक्जेन्डर जिन्चेन्कोले स्काई स्पोर्टससँग भने, ‘वेल्सका लागि गोलरक्षकले धेरै राम्रो गरे। उनी निश्चित रुपमा म्यान अफ द म्याच हुन्। म आफ्ना समर्थकहरुसँग माफी माग्दछु। तर, वेल्सलाई विश्वकपका लागि शुभकामना दिन चाहन्छु।’