अध्ययनकर्ताहरू चीनको तिब्बत क्षेत्रमा हिमनदी पग्लिएर बनेका हिमतालबाट बाहिरिएको पानीले रसुवामा बाढीको रूप लिएको निष्कर्ष नजिक पुगेका छन् ।
भू-उपग्रह तस्वीर विश्लेषणको आधारमा अनुसन्धानकर्ताहरू हिमनदी पग्लिएर बाढीको रूप लिएको निष्कर्ष नजिक पुगेका हुन् ।
चाइनिज एकेडेमी अफ साइन्सका डा. गुओक्सिओङ चेङको सहयोगमा डा. नितेश खड्काले सार्वजनिक गरेको विवरण अनुसार रसुवाभन्दा उत्तरतर्फको उच्च हिमाली भेगमा ढुंगा–माटोको थुप्रोले ढाकिएको हिमनदीको सतह र भित्री भाग हुँदै पानी बगेको स्पष्ट देखिन्छ । त्यसैले बाढी आएको हुनसक्ने डा. खड्का बताउँछन् । तर यो प्रारम्भिक विश्लेषण मात्र भएको बताउँदै खड्का भन्छन्, ‘यसबारे अझ गहिरो निगरानी र अध्ययन आवश्यक छ ।’
चाइनिज एकेडेमी अफ साइन्समा अध्ययनरत खड्काले फेसबुकमा सार्वजनिक गरेको भूउपग्रह तस्वीरमा रसुवाभन्दा माथि चीनको भूभागमा ढुंगा–माटोको थुप्रोले ढाकिएको हिमनदीको माथिल्लो सतहमा बनेको ताल (सुप्राग्लेसियल लेक) बगेको देखिन्छ ।
उनका अनुसार सुप्राग्लेसियल तालहरू सधैं परिवर्तनशील र अस्थायी प्रकृतिका हुन्छन् । जलवायु परिवर्तनको असरले यस्ता तालहरू छिटो–छिटो बन्छन् । सन् २०२१ भन्दा पहिले त्यहाँ ताल देखिँदैन । तर सन् २०२२ मा साना तालहरू देखिन्छन् । २०२३ को ताल अझै ठूलो देखिन्छ भने २०२४ नोभेम्बर ३० (१५ मंसिर २०८१) त्यो ताल हराएको देखिन्छ । २०२५ जुलाई ५ (२१ असार २०८२ असार) भने त्यहाँ पुन: ताल देखा परेको छ ।
२०२५ जुलाई ८ (२४ असार २०८२)को तस्वीरमा भने ढुंगामाटोको थुप्रोले ढाकिएको हिमनदीको सतह भित्री भाग हुँदै पानी बगेको स्पष्ट देखिन्छ । त्यो पानी माटो, ढुंगा सोहोर्दै बगेको र बाढीको रूप लिएर रसुवामा विपत्ति निम्त्याएको हुनसक्ने डा. खड्काको विश्लेषण छ ।
तिब्बत हुँदै बगेर नेपालको भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएको सो बाढीले रसुवामा उच्च, नुवाकोटमा मध्यम र धादिङमा हल्का असर गरेको थियो ।