काठमाडौँ - पहिलो संस्करणको युइएफए युरोपा कन्फ्रेन्स लिगको उपाधि इटालियन क्लब एएस रोमाले उचालेको छ। गएराति भएको फाइनलमा डच क्लब फियोनुर्डलाई १–० ले हराउँदै रोमाले कन्फ्रेन्स लिगको उपाधि उचालेको हो।
एयर अल्बानिया स्टेडियममा खेलको ३२ औं मिनेटमानिकोलो जानिलोले गरेको एक मात्र गोल रोमालाई विजेता बनाउन पर्याप्त बन्यो। उनले जियानलुका मान्सिनीको पासलाई गोलमा परिणत गरेका थिए।
योसँगै प्रशिक्षक जोसे मौरिन्हो चार फरक क्लबबाट युरोपियन लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन्। यसअघि मौरिन्होले पोर्टोबाट च्याम्पियन्स लिग र युइएफए कप, इन्टर मिलानबाट च्यापियन्स लिग र म्यानचेस्टर युनाइटेडबाट युरोपा लिग जितेका थिए।
रोमाले ६० वर्षपछि युरोपियन लिग तथा १४ वर्षपछि कुनै पनि उपाधि जितेको हो। रोमाले यसअघि युरोपियन लिगको रुपमा सन् १९६१ मा फेयर्स कप जित्दा पछिल्लोपटक सन् २००७/०८ को सिजनमा कोपा इटालिया उपाधि उचालेको थियो।