काठमाडौँ - भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ। नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा २०२५ सालमा मुर्रा जातका ११६ भैँसी र ५८ राँगा ल्याइएका थिए।
तीमध्ये ललितपुरको खुमलटार फार्ममा ३६ वटा, चितवनको रामपुर फार्ममा ४४ वटा तथा विराटनगरको तराई फार्ममा ३६ वटा भैँसी राखिएका थिए। राँगामध्ये तीन वटा कृषि फार्मका लागि दुई दुई वटा र बाँकी विभिन्न ग्राम पञ्चायतमा पठाइएका थिए।
२०२५ साल भदौ १४ र २५ गते गोरखापत्रमा यसबारेमा समाचार प्रकाशन भएको थियो। उक्त समाचारमा ‘श्री ५ को सरकार, पशु पालन विभाग तथा पशु चिकित्सा सेवाको आवश्यकता अनुसार भारत सरकारको अतिरिक्त सहयोग अन्तर्गत जम्मा रु ४.६० लाखको लागतमा ती पशुहरू किनिएका तथा वितरण गरिएको छ’ भनी उल्लेख छ। भैँसीको सालाखाला मूल्य करिब दुई हजार सात सय रुपियाँ परेको र प्रतिदिन सालाखाला १२.५–१९.५ केजी दुध दिने समाचारमा उल्लेख छ।
राँगा र भैँसी किन्न दुई अधिकृत तथा भारतीय सहयोग मिसनका एक अधिकृतको टोलीले भारतको हरियाणा, पन्जाब र दिल्लीमा चार महिना बिताएको थियो।
गोरखापत्र दैनिकबाट