काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पीएसजी)का नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले जियानलुजी डोनारुम्मालाई पहिलो रोजाईको गोलरक्षकको रुपमा छानेका छन्। यस निर्णयले अर्का गोलरक्षक केइलर नाभासको भविष्य भने अनिश्चित बनेको छ।
इटालियन गोलरक्षक डोनारुम्मा गत समरमा एसी मिलानबाट फ्री ट्रान्सफरमा पीएसजी पुगेका थिए। त्यसपछि गत सिजन डोनारुम्बा र नाभासको काम बाँडिएको थियो।
फ्रान्सेली अखबर एल इक्विपेका अनुसार यस सिजन त्यो परिवर्तन हुनेछ। गाल्टियर र नयाँ फुटबल सल्लाहकार लुइस काम्पोस २३ वर्षीय डोनारुम्मबालाई खेलाउन तयार भएको छ।
माउरिसियो पोचेटिनो प्रशिक्षक रहँदा गत सिजन दुवै गोलकिपरलाई अवसर दिएका थिए। कोही पनि पहिलो रोजाईको गाेलरक्षक भन्ने थिएन। नाभासले २६ खेल खेल्दा डोनारुम्माले २३ खेल खेलेका थिए।
बिहीबार गाल्टिएरको परिचयात्मक पत्रकार सम्मेलनमा उनले आफूले पहिलो रोजाईमा खेल्ने निश्चित खेलाडी चाहेको बताएका थिए। फ्रेन्च महारथी पीएसजीले डोनारुम्माले नै सुरुवात गर्ने विश्वास राखेको छ।
पीएसजीका लागि अहिलेको समस्या भनेको नाभासको लागि नयाँ क्लब खोज्नु रहेको छ। कोस्टारिकाका यी गोलरक्षकको अझै दुई वर्ष सम्झौता बाँकी रहेको छ।उनले एक सिजन १२ मिलियन युरो कमाउँछन्।
३५ वर्षीय नाभासको ट्रान्सफर भ्यालू करिब १० मिलियन युरो रहे पनि उनका लागि क्लब पाउन कठिन छ। एल इक्विपेका अनुसार नाभाससँगै प्रेसनेल किम्पेम्बेकोको हकमा पनि राम्रो प्रस्ताव पाए पीएसजीले बाहिर पठाउने सोचेको छ।
१० वर्षदेखि पीएसजीमा रहेका २६ वर्षीय किम्पेम्बेलाई लण्डन क्लब चेल्सीले चासो देखाएको छ। पीएसजी भने डिफेण्डर मिलान स्क्रिनियरलाई भित्र्याउनको लागि इन्टरसँग छलफलमा रहेको छ।