इलाम - आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।
न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपैयाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए।
यस्तै दुई हजार आठ सय रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ। पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दै आएकी थिइन्। परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ।
जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचाररत रहेको परिवारका सदस्यले बताएका छन्। घटना २०७९ चैत ५ गते भएको थियो। घटना लगतै पक्राउ परेका पीडक पुर्पक्षका लागि थुनामा रहेका थिए।