काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न १९औं एसियाली खेलकुदका लागि छानिएका २३ खेलका दोस्रो चरणको खेलाडी छनोट गर्न थालेको छ।
राखेपको हाइ पर्फमेन्स कमिटीको मापदण्ड र राष्ट्रिय टिम तयारी समितिको निर्देशनमा सम्बन्धित खेल संघहरुले नै खेलाडी छनोट गरिरहेका छन्। खेलाडी छनोटका लागि खेल संघहरुलाई २४ असारदेखि ३१ असारसम्मको समय दिइएको छ।
‘हामीले २७ गतेसम्म छनोट प्रक्रिया सम्पन्न गर्ने भनेका थियौं। तर, अहिले देशभर चलिरहेको राष्ट्रपति रनिङ शिल्डका कारण खेल स्थलको अभावका कारण ३१ गतेसम्मको समयसीमा दिएका छौं,’ हाइ पफर्मेन्स कमिटीका प्रवक्ता हिमालराज दाहालले भने, ‘हामी ३२ गते छनोट भएका सबै खेलाडीको नामावली सार्वजनिक गर्नेछौं।
चीनको ह्वाङझोउमा भदौ अन्तिममा हुने तय भएको एसियाली खेलकुद कोरोना महामारीका कारण आयोजक चीन र एसियन ओलम्पिक कमिटीले अनिश्चित समयका लागि स्थगित गरेका छन्। यो प्रतियोगिता सन् २०२३ को सुरुवातमा हुने अपेक्षा गरिएको छ। एसियाली खेलकुद सर्दा नेपालले तयारीका लागि पर्याप्त समय पाएको छ।
वैशाख ९ गते बसेको राखेप बोर्ड वैठकले एसियाली खेलकुदमा २३ खेल समावेश गर्ने निर्णय गरेको थियो। एसियाडका लागि सम्बन्धित खेल संघलाई नै खेलाडी छनोटको जिम्मा दिइएपछि पहिलो चरणको छनोट वैशाख तेस्रो साता सम्पन्न भएको थियो।
पहिलो चरणमा एकल खेलतर्फ हरेक विधामा ४ जना र सामुहिक खेलतर्फ आवश्यक संख्याको दोब्बर खेलाडी छनोट गरी जेठ २४ गतेबाट प्रशिक्षण सुरु गरिएको थियो।
१ महिनाको प्रशिक्षणपछि राखेपले दोस्रो चरणको छनोट गर्न निर्देशन दिएको हो। यसले प्रतिस्पर्धात्मक स्तर बढ्ने र राखेपको तयारी खर्च कटौतीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पहिलो चरणको प्रशिक्षणमा ५ सय १४ जना खेलाडी र ६६ जना प्रशिक्षक सहभागी भएका थिए
दोस्रो चरणको छनोटपछि एकल खेलतर्फ हरेक विधामा ४ मध्ये २ खेलाडी कटौती गरिनेछ। सामुहिक खेलतर्फ १ तिहाई संख्या कटौती गरिनेछ। ‘फुटबलमा ४० जनाले प्रशिक्षण लिइरहेका छन् भने १० जना कटौती हुनेछ, कवड्डी र भलिबलमा २४ जनाले प्रशिक्षण गरिरहेकोमा अब १८ जना हुनेछन्। ह्याण्डबलमा ३२ जनाले प्रशिक्षण गरिरहेकोमा अब २४ जना हुनेछन्,’ प्रवक्ता दाहालले भने।
एसियाली खेलकुदमा नेपालले २३ खेलका १ सय ५० जना खेलाडी सहभागी गराउने निर्णय गरेको छ।
एसियाली खेलकुदमा नेपाल सहभागी हुने खेल :
एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराँते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, ट्रायथोलन, उसु, आर्चरी, बास्केटबल, महिला कवड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेवलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङ।