काठमाडौँ - दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रायस नेपाल भ्रमणमा आएका छन्। सोमबार बिहान नेपाल आएका मार्टिनले नेपालको संघीयता मामिलाका साथै देशको आर्थिक विकास तथा उत्थानका लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।
मार्टिन रायसले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेका छन्। सो अवसरमा उनले नेपालको संघीयता र हरित, लचिलो र समावेशी विकास (ग्रिड) का लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासँग मार्टिनको नेपालको दीगो विकास, आर्थिक पुनरुत्थान तथा विकास साझेदारीको विषयमा छलफल भएको बताइएको छ।
‘नेपालसँग हरित, लचिलो र समावेशी रूपमा विकास गर्ने अवसर छ र धेरै यी विकास निर्णयहरू स्थानीय स्तरमा लिनु आवश्यक छ’ मार्टिन रायसले भने, ‘विश्व बैंक नेपालको संघीय प्रणालीलाई प्रादेशिक सशक्तिकरण गर्न थप सहयोग गर्न प्रतिबद्ध छ। स्थानीय सरकारहरू र जनतालाई सेवा र रोजगारीका अवसरहरू ल्याउनुहोस्।’
सोही अवसरमा नेपालका लागि विश्व बैंक समूहको कन्ट्री क्लाइमेट एण्ड डेभलपमेन्ट प्रतिवेदन समेत सार्वजनिक गरिएको छ। उक्त प्रतिवेदनले नेपालमा कम कार्बन उत्सर्जनका साथै लचिलो विकासलाई समर्थन गर्ने गरी उपायहरु प्रस्ताव गरिएको छ।
प्रभावित क्षेत्रहरु जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुलुकको विकासमा केन्द्रित हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।