काठमाडौँ - आयरल्यान्डले आइसिसी टि-२० विश्वकपमा श्रीलंकालाई १ सय २९ रनको मध्यम लक्ष्य दिएको छ। होबार्टमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो।
आयरल्यान्डको लागि ह्यारी टेक्टरले ४२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए। पउल स्टर्लिङले २५ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए। अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन।
पाँचौं विकेटका लागि टेक्टर र डोकरेलले ४१ बलमा ४७ रनको साझेदारी गरेका थिए। कप्तान एन्ड्रयु बालबिर्नी दोस्रो ओभरको पहिलो बलमै एक रनमा बोल्ड भएका थिए। लाहिरु कुमाराको लेग साइडको बललाई स्वीप खेल्ने धुनमा मिस हुँदा बोल्ड हुन पुगेका थिए।
पाँचौं ओभरको चौथो बलमा स्पिनर महेश थिक्सनाले लोर्कान टकरलाई १० रनमा बोल्ड आउट गरे। नवौं ओभरको चौंथो बलमा धनन्जय डि सिल्भालाई ठूलो सट खेल्ने धुनमा पउल स्टर्लिङ भानुका राजपक्षेबाट क्याच आउट भएका थिए।
कर्टिस क्याम्फर २, गेराथ डेलानी ९, सिमी सिंह ७ र जर्ज डोकरेल १४ रन बनाएका थिए। आयरल्यान्डले ७ बलमा ३ रन जोड्न तल्लोक्रमका ३ विकेट गुमायो।
श्रीलंकाका स्पिनर महेश थिक्सनाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। चामिका करुणारत्नेले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए। वानिन्दु हसरंगाले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। चामिका करुणारत्ने र धनन्जय डि सिल्भाले १/१ विकेट लिए।