म्याग्दी - वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइएको छ।
जिल्लामा ७४ मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिवार र आइतवार बेनी सामुदायिक माविमा तालिम सञ्चालन गरिएको हो।
तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ। उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए।
उनका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिका बारेमा सिकाइएको छ। साथै मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ।
निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको छ। तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, धौलागिरि, अन्नपूर्ण, मंगला, मालिका र रघुगंगाका निर्वाचन अधिकृतहरु क्रमश : भोलाराज रेग्मी, जानुका सुवेदी, धर्मराज पौडेल, गोविन्द उपाध्याय र तेजप्रसाद पौडेल तथा निर्वाचन अधिकारी घिमिरेले सहजीकरण गरेका थिए।
छ स्थानीय तह र ४५ वडा रहेको जिल्लामा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिँगी गरी ८५ हजार ३७५ जना मतदाता छन्। निर्वाचित हुने २३५ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
११४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ जना सहयोगी कर्मचारी गरी कूल ५६१ जना सुरक्षाकर्मीबाहेकका जनशक्ति खटाइएको प्रजिअ रानाले बताए।
सोमवार साँझसम्म मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी पुग्ने उनले बताए। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा आइतवारदेखि नै कर्मचारी र सुरक्षाकर्मी खटिएका छन्।