काठमाडौँ - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्षले सङ्घको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह गरेका छन्। एनआरएनएका पूर्वअध्यक्ष शेष घले तथा देवमान हिराचनले संस्था गम्भीर सङ्कटमा परेको भन्दै बोलाएको बैठकमा सहभागी ४५ भन्दा बढी एनसीसी अध्यक्ष तथा पदाधिकारीलाई एनसीसीका अध्यक्षले त्यस्तो आग्रह गरेका हुन्।
एनसीसी अमेरिकाका अध्यक्ष वुद्धि सुवेदीले कोरम नपुगेको मार्च २ मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बैठकले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भङ्ग गर्ने भन्ने निर्णय विधान विपरीत भएकाले त्यसको कुनै कानूनी हैसियत नभएको बताए। उनले एनसीसी जापान, अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियालाई शुल्क नतिरे भङ्ग गर्ने भनी पत्राचार गरेकोमा आपत्ति व्यक्त गरे। “त्यो पत्र फिर्ता लिनुपर्छ। संरक्षक परिषद् भङ्ग गर्ने निर्णय फिर्ता लिनुपर्छ’’, उनले भने।
सङ्घका पूर्वअध्यक्ष घलेले एनसीसीलाई एकताबद्ध र बलियो बनाउने नै आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै एनसीसीहरुलाई भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिन आग्रह गरे। उनले एनसीसीहरु स्वायत्त र सार्वभौम हुन् भन्दै एनसीसीहरुलाई राम्रो काम जारी राख्न पनि आग्रह गरे।
पूर्वअध्यक्ष हिराचनले सङ्घको वर्तमान स्थितिप्रति अत्यन्तै चिन्तित भएकाले बैठक बोलाएको बताए। “यो कुनै व्यक्तिगत स्वार्थका लागि बनाएको संस्था होइन, संसारभरिका नेपालीको हितका लागि बनाइएको संस्था हो। हामीले संस्था फुटाउन लागेको भन्ने कुरामा विश्वास नगर्नोस्। कुनै पनि हालतमा यो संस्थालाई बचाउनु पर्छ”, उनले भने।