काठमाडौँ - चालू आर्थिक वर्षको सुरुदेखि नै सङ्कुचित वैदेशिक व्यापारले मङ्सिरमा पनि निरन्तरता पाएको छ। भन्सार विभागले सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घटेको छ।
विभागका अनुसार मङ्सिरसम्म नेपालले कुल सात खर्ब ३२ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ। जब कि गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार नौ खर्ब ४१ अर्ब रुपियाँ नाघेको थियो। आयातमा भएको गिरावटले कुल अन्तर्राष्ट्रिय व्यापारको आकार नै घटाएको तथ्याङ्कले देखाउँछ। विभागका अनुसार मङ्सिरसम्म नेपालले छ खर्ब ६४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ। गत वर्ष सोही अवधिसम्म नेपालले आठ खर्ब ३८ करोड रुपियाँको वस्तु आयात गरेको थियो। यस हिसाबले वस्तु आयात करिब एक खर्ब ७५ करोड रुपियाँले घटेको छ।
गोरखापत्र दैनिकबाट