काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य बढाउने सोच अघि सारेको छ।
निजी क्षेत्रको सहभागिता र सहकार्यले नेपालको खेलकुदको विकास र विस्तारका लागि ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मुलुकको खेलक्षेत्रको विकास मन्त्रालयको मूल प्राथमिकतामा रहेता पनि निजी क्षेत्रसँग पनि सहकार्य अघि बढाउने सोच बनाइएको बताए। उनले भने, “आगामी बर्षको बजेटमा खेलकुदको विकासमा निजी क्षेत्रको सहकार्य प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउने सोच बनाएका छौँ।”
निजी क्षेत्रका बैंक तथा वित्तीय सङ्घसंस्थाले अहिले नै पनि खेलाडी उत्पादन र विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन गरी खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउँदै आएका छन्। निजी क्षेत्रबाट खेल पूर्वाधार तयार निर्माण र खेलाडी उत्पादनमार्फत देशको खेल क्षेत्रको नतिजा अब्बल तुल्याउन अझै योगदान हुने आशा गरिएको छ।
सचिव डा. रेग्मी भने, “सरकारी क्षेत्रबाट मात्रै खेल क्षेत्रका विकास गर्छुभन्दा अधुरो र अपूरो हुन्छ। निजी क्षेत्र हरक्षेत्रमा प्रखर र प्रवल साझेदारका रूपमा रहिआएको छ। खेल क्षेत्रमा पनि निजी क्षेत्रबाट वित्तीय र अरु सङ्घसंस्थाका माध्यमद्वारा सहयोग हुँदै आएको छ।” पछिल्लो समय राजधानीलगायतका देशका मुख्य सहरमा निजी क्षेत्रका माध्यमद्वारा फुटसलको ह्वात्तै विस्तार भएको छ।
फुटसल विस्तारले पनि खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको पुष्ट्याइँ गरेको छ। खेल पूर्वाधार र मैदान निर्माणमा पनि निजी क्षेत्रको सहभागिता बढ्दै गएको पाइएको छ।