काठमाडौँ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ।
अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण नदेखिएका अन्यप्रयोजनका लागि परीक्षण गराउन चाहेमा रु. ७५० शुल्क निर्धारण गरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार सरकारले कोरोना परीक्षणका लागि रु एक हजार शुल्क तोकेको छ।खर्च पुग्ने भएकाले कम शुल्कमा सेवा दिन लागिएको हो। अस्पतालमा दैनिक ९० जनासम्मको स्वाब सङ्कलन गरेर परीक्षण गर्नसक्ने क्षमता प्रयोगशालाको रहेको बगालेले बताए।
पूर्वी चितवनबाट कोरोना परीक्षण गराउन भरतपुर नै पुग्नुपर्ने बाध्यतालाई यसले अन्त्य गर्ने विश्वास आफूहरूले लिएको डा. बगालेको भनाइ छ। सो अस्पताल ५० शय्याको प्रदेशस्तरको अस्पताल हो। चितवनमा यसअघि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा गरी चार ठाउँमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो।
प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो।