काठमाडौँ - यतिबेला निर्देशक झरना थापा नयाँ फिल्म ‘भगवत् गीता’को तयारीमा छिन्। कृष्ण जन्माष्टमीको दिन टिजर भिडियोमार्फत फिल्मको औपचारिक घोषणा भइसकेको छ।
टिजरसँगै फिल्मको नायक पनि सार्वजनिक हुने अपेक्षा थियो, तर भिडियोमा सुहानालाई मात्र फिचर्ड गरिएको छ। स्रोतका अनुसार नायकको लागि अभिनेता धीरज मगरलाई प्रस्ताव राखिएको थियो।
तर धीरजले महंगो पारिश्रमिक मागेपछि सम्भावना टरेको बताएको छ। धीरज भन्दा अघि दयाहाङ राईलाई पनि ‘अप्रोच’ गरिएको खबर बाहिरिएको थियो, तर निर्देशक झरनाले त्यसलाई खण्डन गरेकी थिइन्।
निर्माता सुनिलकुमार थापाले धीरजले महंगै पारिश्रमिक मागे पनि उनलाई नलिने निर्णय नभएको बताउँछन्। ‘अहिले पनि हामीले उनीबारे सोचिरहेका छौं। नलिने भन्ने निर्णय भएको छैन,’ सुनिल भन्छन्, ‘सकेसम्म नयाँ हिरोलाई लिएर स्थापित गरौं कि भन्ने हाम्रो सोच हो।’
सुनिल र झरना पनि सकेसम्म नयाँ अनुहारलाई कास्ट गर्ने मनस्थितिमा छन्। दशैंलगत्तै फिल्म छायांकनको तयारी छ। जनकपुरमा छायांकन हुने फिल्मको मुख्य भूमिकामा सुहाना छिन्।