काठमाडौँ - काठमाडौँको तिनकुनेमा हिजो मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाईते भएकी छन्। घाईते हुनेमा अन्दाजी ६५ वर्षिया महिला रहेकी छन्। उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको छ। घाईतेको पहिचान खुल्न बाँकी रहेको छ।
हिजो बेलुकी साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिई फरार भएको प्रहरीले जनाएको छ। मोटरसाइकल सहित फरार चालकको खोजी भैरहेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ।
यस्तै काठमाण्डौको मुलपानीमा हिजो बेलुकी ७ बजे दुई ओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भिर घाइते भएका छन्। बा ८२ प ६५९९ र बा ९५ प १५६६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
घाइते हुनेमा ६५९९ नम्बरका मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलका ४० वर्षिय बिकाश थापा मगर रहेका छन्। उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको छ। दुबै मोटरसाइकल र १५६६ नम्बरको मोटरसाइकल चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।