पर्वत - पर्वतको कुश्मा नगरपालिकामा भौतिक पूर्वाधार विकास तथा आयआर्जनमूलक पूर्वाधार निर्माणको कार्यक्रम सुरु गरिने भएको छ।
नगरपालिकाको आवश्यकताअनुसारको विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न तथा आयआर्जनसम्बन्धी पूर्वाधारमूलक कार्यक्रम सञ्चालनका लागि सघन सहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। सघन सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीबीच कार्यविधिमा शुक्रबार हस्ताक्षर भएको छ।
नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाभित्रका सबै वडाका कच्ची सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको बताए। यस्तै नाली निर्माणदेखि आयआर्जनमूलक उद्यम विकासमा पनि कार्यक्रमले सहयोग गर्ने उनले जानकारी दिए। सबै वडामा एउटा न एउटा योजना पर्ने गरी कार्यक्रम तर्जुमा गरिने जोशीले जानकारी दिएका छन्।
केही योजना सङ्कलन भइसकेको र योजना सङ्कलनको काम भइरहेकाले नगरपालिकाले विस्तृत योजना बनाएपछि योजनाको विस्तृत अध्ययन हुने र तत्पश्चात् कामको सुरुआत हुने नगरप्रमुख जोशीले बताए। नगरउपप्रमुख सीता काफ्ले लामिछानेले सहरोन्मुख कुश्मामा आवश्यकताका आधारमा योजना छनोट गरी कार्यक्रम सञ्चालन गरिने बताए। आफूहरु निर्वाचित भएपछि नगरपालिकाको समग्र विकासमा ध्यान दिँदादिँदै बजेटको अभावमा कतिपय योजना अधुरा रहेको अवस्थामा यो कार्यक्रमले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्ने उल्लेख गरेका थिए।
कुश्मा नगरपालिकामा उक्त कार्यक्रम सञ्चालनका लागि रु ५० करोड बराबरको आर्थिक सहयोग प्राप्त हुने भएको छ। चालु वर्ष योजना सुरु भए पनि अधिकांश योजना बहुवर्षे कार्यक्रममा समावेश हुने जनाइएको छ। कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे शुक्रबार नगरपालिकामा छलफल भएको थियो।
यसैबीच कुश्मामा बसपार्क निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत योजना अगाडि बढाउन नगरपालिकाले सिफारिस गरेको छ। सिटीहलसहितको बसपार्क निर्माण गर्ने गुरुयोजना भए पनि चालु वर्ष रु १० करोड मात्र बजेट प्राप्त भएकाले उक्त बजेटमार्फत कामको सुरुआत गर्न कार्यालयलाई नगरपालिकाले सिफारिस गरेको हो।
सिटीहलसहित बसपार्क निर्माण गर्न रु ७५ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ। बहुवर्षे योजनामा समावेश भएको सिटीहलसहित बसपार्क निर्माण गर्ने भन्दै कुश्मा नगरपालिकाले गौरवको योजनाको रुपमा अगाडि सारेको छ।