काठमाडौँ - टिभी रियालिटी शो ‘द पोएट आइडल’का विजेताले १० लाख रुपैयाँ पाउने भएका छन्। आयोजकका अनुसार १० लाख सँगै विजेताले ५ लाख रुपैयाँ बराबरको कविता संग्रह प्रकाशनको सम्झौताको अवसर पनि पाउने छन्।
नेपालमा पहिलो पटक रियालिटी शो ‘द पोएट आइडल’ हुन लागेको हो। गीत, नृत्य र कमेडीको रियालिटी शो बाक्लै रुपमा हुँदै आएकोमा कविता लेखन र वाचनको पनि शो हुन लागेको हो। यसका लागि डिजिटल अडिसन खुला भइसकेको छ। असोज ३१ गतेसम्म अडिसनका लागि कविता पठाउनु पर्नेछ।
आफूले लेखेको कविता आफैं वाचन गरेर पठाउनु पर्नेछ। २ मिनेटभन्दा लामो अडियो पठाउन पाइने छैन। कविता वाचन व्यक्ति स्वयंले गर्नु पर्नेछ। कविता कम्तीमा ७५ प्रतिशत नेपाली भाषा र बाँकी आफनै मातृ भाषामा पनि पठाउन सकिनेछ। रियालिटी शोमा १८ र त्यसभन्दा माथि उमेरका व्यक्ति प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्।
शोको निर्देशक अमनप्रताप अधिकारी हुन् भने निर्णायकमा अनुप बराल, विप्लव प्रतीक, उपेन्द्र सुब्बा र सुरक्षा पन्त रहनेछन्। दिब्यदेवले होस्ट गर्ने कार्यक्रको पफर्मेन्स मेन्टरका रुपमा साइग्रेस पोखरेल रहेका छन्।