काठमाडौँ । नुवाकोटमा निर्माणाधीन ग्रिडमा आबद्ध सोलार आयोजनाको कार्यालयमा युवा सङ्घर्ष समितिले ताला लगाएसँगै काम बन्द भएको छ। समितिले आफ्ना माग पूरा गर्नको लागि भन्दै दबाबस्वरुप आइतबार विदुर नगरपालिका–६ स्थित आयोजनाको कार्यालयमा ताला लगाएका थिए।
सामाजिक उत्तरदायित्वको जिम्मेवारी पूरा गर्न दिएको समयमा आयोजनाले बेवास्ता गरेको भन्दै विदुर नगरपालिका–१२ का युवा सम्मिलित युवा सङ्घर्ष समितिले कार्यालयको मूल ढोकामा ताला लगाएको हो। यसअघि पटक–पटक भएको सहमति अनुसार गत मङ्सिर १० गते माग पूरा गर्न दिएको १५ दिनको समयसीमालाई समेत आयोजनाले लत्याएपछि कार्यालयमा ताला लगाइएको समितिका संयोजक रोजिना ढुङ्गानाले जानकारी दिए। उनका अनुसार विदुर नगरपालिका–६ को ब्यारेक चोकदेखि वडा नं १२ को ज्यामिरेमोडसम्मको सडक स्तरोउन्नति तथा कालोपत्र गर्ने काम सुरु गर्न आग्रह गरिएकोमा नगरेकाले तालाबन्दी गरिएको हो। “जनप्रतिनिधिको उपस्थितीमा आयोजनाले जनाएको जिम्मेवारी पूरा गर्न बेवास्ता गरेसँगै कार्यालयमा ताला लगाउन बाध्य भएका हौँ”, संयोजक ढुङ्गानाले भने, “आयोजनाले सामाजिक उत्तरदायित्वको काम गर्न बजेट सुनिश्चित गरेपनि कार्यान्वयमा ढिलो गरकाले ताली लगाएर काम रोकिएको हो।” युवा सङ्घर्ष समितिसहित सोलार सरोकार समितिसहितको उक्त क्षेत्रका विभिन्न सङ्घसंस्था र समितिले आयोजनाको पहुँच मार्गमा पर्ने ब्यारेक चोकदेखि ज्यामिरे मोडसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्रको माग राख्दै आएका छन्।
आयोजनाको कार्यालयमा ताला लगाएसँगै जारी रहेको सोलार ग्रिडको निर्माणको काम प्रभावित भएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए। उनको अनुसार स्थानीयवासीको माग जायज भए पनि शान्तिपूर्ण प्रक्रियाको सट्टा तालाबन्दीले योजनाको निर्माणलाई थप ढिलो भएको छ। “सामाजिक उत्तरदायित्वका योजना कार्यान्वयनका लागि बजेट सुनिश्चितको क्रममा रहेको छ”, उनले भने, “एक महिनाभित्रै काम अघि बढाउन केन्द्रबाट बजेट प्राप्त हुने चरणमा रहेको छ।” प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट जलविद्युत् केन्द्रको नाममा रहेको खाली जग्गामा निर्माण थालिएको सोलार प्लाण्टमार्फत् २५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यको साथ काम अघि बढाइएको छ। आयोजनाबाट हालसम्म १० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको छ। विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौतामा काम भइरहेको हो। उक्त सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले पाँच वर्षसम्म गर्ने जनाएको छ।
कम्पनीले पाँच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने उल्लेख छ। कम्पनीले प्लान्टबाट वार्षिक रुपमा तीन करोड ३० लाख युनिट विद्युत् उत्पादन गर्नुपर्ने सम्झौतामा भनिएको छ।