हेटौंडा - नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ।
आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन्। कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरे। सचिव पदमा भीमसेन महत ८१३ र इश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भए। सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईँ विजयी भए। न्यौपाने ८५० तथा बजगाईंले ५६२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा सर्वसम्मत चयन भएका थिए। सभापतिमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरणका लागि संस्थापन पक्षका दुई उम्मेदवार लामा र आनन्द पराजुलीबीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा लामालाई सर्वसम्मत चयन गरिएको थियो। सदस्यहरुको भने मत गणना हुन बाँकी छ।