काठमाडौँ - मध्यक्रमका ब्याटर टोनी उरा र नर्मन भानुआको विष्फोटक ब्याटिङमा पपुवा न्युगिनीले दोस्रो टि-२० आई खेलमा सिंगापुरमा ३ विकेटले पराजित गरेको छ। योसँगै चार टि-२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ।
जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। एक समय पपुवा न्युगिनी ७.१ ओभरमा ५३/५ को दयनीय अवस्थामा पुगेको थियो। त्यसपछि नर्मन भानुआ र टोनी उराले विष्फोटक इनिङका साथ जितको आधार तय गरेका हुन्। छैटौं विकेटका लागि उरा र भानुआले १ सय १५ रनको शतकीय साझेदारी गर्दै सानदार जित दिलाएका हुन्।
उराले ४० बलमा ४ चौका र ९ छक्कासहित ९३ रनमा अविजित रहँदै अविश्वसनिय जित दिलाए। भानुआ ३७ बलमा २ चौका र ७ छक्कासहित ७१ रनमा आउट भएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सिंगापुरका अम्जाद महबुब, आर्यमन सुनि र विनोद भास्करनले २/२ विकेट लिएका थिए।
त्यसअघि इन्डियन एसोसिएसन ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो।
सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनले ५२ बलमा ७ चौका र ७ छक्कासहित १ सय रनमा आउट भएका थिए। चन्द्रमोहन टि-२० आईमा सिंगापुरबाट शतक हान्ने पहिलो खेलाडी बनेका छन्। यसअघि टिम डेविडले मलेसियाविरुद्ध बनाएको ९२ रन नै सिंगापुरको लागि टि-२० आईमा सर्वाधिक रहँदै आएको थियो। अर्जुन मुतरेजा ३६ र अमन देशाईंले ३० रन बनाएका थिए।
पपुवा न्युगिनीका डामिन राभुले सर्वाधिक ३ विकेट लिए। सिंगापुर र पपुवा न्युगिनीबीच चार टि-२० आई खेलको सिरिज भएको हो। पहिलो खेलमा सिंगापुर १८ रनले विजयी भएको थियो। तेस्रो खेल मंगलबार हुनेछ।
अर्को सातादेखि आइसिसी टि-२० विश्वकप ग्लोबल छनोट बी हुने हुँदा तयारी स्वरुप पपुवा न्युगिनीले सिंगापुरसँग सिरिज खेलेको हो। शीर्ष दुई टोली आगमी वर्ष अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्न पाउनेछन्।