काठमाडौँ - धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ। काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित धोबीखोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा नवजात शिशुको शव आज बिहान फेला परेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फोहोरको डङ्गुरमा भर्खरै जन्मेको नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिए।
उक्त शवलाई महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले मुचुल्का गरी त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रवक्ता मैनालीले बताए। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।