जुम्लाको ‘सिकारी गाउँ’ कृषिमा रमाउँदै

काठमाडौँ - जुम्ला खलंगाबाट १७ कोष टाढा छ, दुर्गम भेरिखोलाको सर्मी गाउँ। कुल १ सय ७० घरधुरीको सर्मी साबिक ताम्ती गाविसको प्रवेशद्वार पनि हो। दैलेखको चौराठा हुँदै जुम्ला पानसय दराबाट भेरिखोलामा बसाइँ सरेर सर्मी गाउँ निर्माण भएको कथन छ। सर्मीमा कस्तुरी, झारल, बाज, च्याखुराजस्ता पशुपक्षी हुने हुँदा सिकारीका लागि उर्वर क्षेत्र मानिन्थ्यो। ४ दशकअघिसम्म पनि भेरिखोलामा बाज, कस्तुरी, झारललगायतका पशु पक्षीको सिकार गरिन्थ्यो। सरकारले बाजको व्यापारमा कर नै तोकेको थियो।

बाज भारतीय नागरिकलाई बिक्री गरिन्थ्यो, उनीहरूले बाजलाई मोती टिप्ने काममा प्रयोग गर्थे। स्थानीय प्रेम रावलले सुनाए, ‘च्याखुरा खेल्ने ठाउँ, बाजको खेल्ने थलो, कस्तुरी बस्ने भुरिचुला, सुनखानी भएको २२ पाटन भएको भेरिखोला छ भनेर पुर्खालाई सुरुमा सर्मी पठाइयो, सिकारी गाउँको इतिहास बोकेको सर्मी अहिले किसानको गाउँमा परिणत भएको छ,’ सिकारी बसेर गाउँ निर्माण भएको सर्मीमा अहिले किसान मात्रै छन्।

२०१९ सालमा सरकारले पशुपक्षी संरक्षण ऐन ल्याएपछि सर्मीबासी सिकारीबाट किसान बने। गाउँछेउको घट्टेखोला किसानको सहारा बनेको छ। जुम्लाका गाउँबस्तीमा खडेरिदाग्दा घट्टेखोलाले सर्मी गाउँको जमिन हराभरा छ। सर्मी गाउँमा सिँचाइ, खानेपानी, विद्युत्, पानीघट्टलगायतका आवश्यकता यही खोलाले पूरा गरेको छ।

 ‘सरकारले पशुपक्षी संरक्षण ऐन ल्याएपछि सिकारबाट जीविका चलाएका सर्मीबासीको रोजीरोटी खोसियो। सिकारीबाट गाउँले किसान बन्न थाले। अनि किसानको सारथी बन्यो, घट्टेखोला। अहिले यही खोलाले गाउँलाई खानेपानी, बिजुली, सिचाइ, पानीघट्ट दिएको छ,’ स्थानीय दलबहादुर कुँवरले भने। साबिकको ताम्ती गाउँविकास समिति रहेको भेरिखोलामा पहिलोपटक बिजुली सर्मीमा बलेको थियो। अहिले पनि गाउँ झिलिमिली छ। एक घर एक धारा छ।

जुम्लामा कुल २ सय ३८ गाउँ छन्। प्राकतिक भू–बनोटले कतै सहज र कतै कठिन जीवनशैली छ। सर्मीका छिमेकी गाउँ नुवाकोटको महादेव, राँका गाउँको तरापीमा खानेपानीको हाहाकार छ। भेरिखोला हुँदै बग्ने नदी किनारबाट भुरीचुला हिमालको मध्यान्तरसम्म घना जंगल छ। यही जंगलका कारण सर्मी गाउँको घट्टे खोला बगिरहन्छ। 
राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×