१०औं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १५ देशका २६ फिल्म

काठमाडौँ - १०औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२ को मिति तय भएको छ। यो महोत्सव १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक पक्ष जनाएको छ।

यो महोत्सव कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त रूपमा आयोजना गर्न लागिएको हो। जसमा नेपालसहित १५ देशका २६ वटा फिल्म चयन भएको बताइएको छ।

‘महोत्सवमा विभिन्न देशका सयभन्दा बढी फिल्म प्राप्त भएका थिए। जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ। कोरोना महामारी मत्थर भएकाले यतिबेला यो महोत्सव गर्न लागिएको हो।

आयोजक पक्षका अनुसार यो महोत्सवमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन्। जसमध्ये अधिकांश अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ। अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन्। महोत्सवका लागि फिल्म चयन भएका विदेशी मुलुकमा बुर्किना फाँसो, इजिप्ट, ट्युनेसिया, संयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ट्रिया, जर्मनी, बेनिन, कंगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन्।

महोत्सवमा नेपालबाट ११ वटा लामा छोटा चलचित्र यसपटक छानिएका छन्। जसमध्ये सातवटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत चयन भएको आयोजक पक्षले जनाएको छ। जसमा राइज, शंका, कुइनेटो, गरिमा, द डटर, द ब्लाक कर्नर, ऐना रहेका छन्। यस्तै,यसपटक विद्यार्थीको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ। यो प्रतिस्पर्धामा ११ वटा फिल्म आएकोमा चारवटा मात्र चयन भएका छन्। प्रतिस्पर्धामा फिल्म झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन्।

नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफुहरूले एक दशकअघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्दै आएको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल तथा महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन् ‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै मिल्दाजुल्दा कुरा छन्। अफ्रिकालाई अब हामीले पश्चिमाको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले विगत १० वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौं।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×