काठमाडौँ - मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ले कोरोना महामारीयताकै उच्च कमाइ गरेको छ। सोमबार १८ औं दिनमा नाटकको मञ्चन सकिएको छ।
दर्शकको घुइँचो बढेपछि पछिल्ला दिनमा नाटकलाई दैनिक दुई शो मञ्चन गरिएको थियो। मण्डला नाटकघरमा नयाँ नाटक र कार्यक्रमको अग्रिम बुकिङ भएकाले १८ दिनसम्म मात्र सञ्चालन गर्न सकिएको निर्देशक विमल सुवेदीले जनाएका छन्।
नाटकले १० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको जनाइएको छ। यो कमाइ पछिल्लो समय हलमा रिलिज भएका कतिपय फिल्मको कुल कमाइभन्दा पनि उच्च हो।
सृष्टि श्रेष्ठ र विमल सुवेदीको मुख्य भूमिका रहेको नाटक ‘पल्पसा क्याफे’ नारायण वाग्लेद्वारा लिखित उपन्यासमा आधारित छ। सशस्त्र द्वन्द्वको उत्कर्षमा जीवन बाँचिरहेका पात्रहरुको मनोदशामा आधारित नाटक हेर्न उपन्यासकार वाग्ले पनि मण्डला थिएटर पुगेका थिए।
चर्चित उपन्यास, नाम चलेका कलाकार र कोरोना महामारीपछि नाटक हेर्न अधैर्य दर्शकको कारण ‘पल्पसा क्याफे’ हिट भएको निर्देशक सुवेदीको भनाइ छ।