काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सुरुवाती दुवै खेल हार्दै बिर्सनलायक सुरुवात गरेको छ। पछिल्लो हारपछि त टोलीबारे निकै प्रश्न पनि उठे। यसबीचमा टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो भने आलोचनाको केन्द्रमा रहेका छन्।
प्रि-सिजनमा उपस्थित नहुनु र पटक पटक उनको नाम युरोपको अन्य क्लबसँग जोडिनुले पनि रोनाल्डो चर्चामा रहेका छन्। त्यसो त सुरुवाती दुवै खेलमा उनको प्रदर्शन खराब रहेको छ। तर प्रशिक्षक एरिक टेन हाग भने रोनाल्डो एक्लैलाई यसको दोष थोपर्न नहुने बताउँछन्। टेन हागले नतिजाको जिम्मेवारी टोलीको हुने र रोनाल्डो अझैपनि आफ्नो योजनामा रहेको बताएका छन्।
‘मलाई थाहा छैन शनिबारको खेलपछि रोनाल्डोलाई लक्षित किन गरिएको छ। त्यो हारको कारण टोलीको प्रदर्शन थियो। पूरा टोली यसको जिम्मेवार छ, रोनाल्डो सहित। अहिलेलाई म रोनाल्डो हाम्रो योजनामा छन् भनेर पुष्टि गर्न सक्छु।’
म्यानचेस्टर युनाइटेडले सन् १९२१ यता पहिलो पटक लिगको सुरुवाती २ खेलमा हार व्यहोरेको छ। र टोलीले अब सोमबार हुने खेलमा चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलको सामना गर्दैछ। टेन हागले उक्त खेल जसरि पनि जित्नुपर्ने अवस्था रहेको बताएका छन्।
‘मलाई २ क्लबबीच इतिहासबारे थाहा छ। हामीले अब हरेक खेल जित्नुपर्छ। विशेषगरी यो खेल त जित्नैपर्छ। यो मैले राम्रोसँग बुझेको छु।’
टेन हागले पछिल्लो २ खेलमा हार व्यहोरेपनि टोलीको सिद्धान्त र योजना परिवर्तन नहुने बताएका छन्। ‘हरेक खेल फरक हुन्छ। तर हाम्रो खेल्ने सिद्धान्त र योजना त्यस्तै रहन्छ। पछिल्लो खेलबाट हामीले के ठिक छ र के सुधार्नुपर्छ थाहा पाएका छौं। पक्कैपनि धेरै कुरा गलत भएको थियो। यदि तपाईं त्यो बुझ्न सक्नुहुन्छ भने धेरै बोल्न पर्दैन।’
लिभरपुल र युनाइटेडबीचको खेल सोमबार राती हुनेछ। खेल नेपाली समयअनुसार मंगलबार विहान १२:४५ बजे (सोमबार मध्यरात) मा हुनेछ।