काठमाडौँ - क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने इच्छा देखाएको खुलासा भएको छ।
अन्य कुनै क्लबले अनुकूल प्रस्ताव राखेमा पोर्चुगाली स्टार इंग्लिस प्रिमियर लिग क्लब छाड्न चाहन्छन्। गत सिजन मात्रै ३७ वर्षीय फरवार्ड युभेन्ट्सबाट ओल्ड ट्राफोर्ड फर्केका थिए। त्यस सिजन उनी क्लबका लागि सर्वाधिक गोलकर्ता पनि रहेका थिए।
यस्तै उनी लिगमै सर्वाधिक गोलकर्ता सूचीको तेस्रो स्थानमा रहेका छन्। तर, म्यानचेस्टरका लागि पूरा सिजन नै बिर्सनलायक रह्यो। टिम लिग अंक तालिकाको छैटौं स्थानमा रह्यो। त्यसै कारण उनको युरोपेली च्याम्पियन्स लिग खेल्ने सपना पूरा हुन सकेन। ५ पटकको बालोन डी’अर विजेता रोनाल्डो म्यानचेस्टरमै रहे आफ्नो खेलजीवनमै पहिलोपल्ट युरोपा लिग खेल्नुपर्ने अवस्थामा पुग्नेछन्।
उनले गत सिजन सबैखाले प्रतियोगितामा गरेर २४ गोल गरेका थिए। म्यानचेस्टर युनाइटेडका नयाँ व्यवस्थापक एरिक टेन हागले रोनाल्डो बिक्रीमा नभएको बताउँदै आएका छन्। उनले आफू रोनाल्डोसँग काम गर्न इच्छुक रहेको समेत बताएका छन्। म्यानचेस्टरका लागि तीनपल्ट लिग उपाधि जितेका रोनाल्डोले क्लबबाट कुल ६ उपाधि जितिसकेका छन्।
सन् २००९ मा उनी म्यानचेस्टर छाडेर रियाल म्याड्रिड गएका थिए। सन् २०१९ मा युभेन्ट्ससँग आबद्ध भएका थिए। म्यानचेस्टरले नयाँ सिजनका लागि आफ्ना खेलाडीलाई बोलाइसकेको छ र त्यसकै तयारीका रूपमा टिम थाइल्यान्ड जाँदैछ। तर रोनाल्डोको भविष्यलाई लिएर उत्पन्न अन्योल भने कायम रहेको छ।