तनहुँ - व्यास नगरपालिका भित्र उत्कृष्ट सहकारीका रुपमा पहिचान बनाएको व्यास बचत तथा ऋण सहकारी संस्थाले महिलालाई उद्यमी बनाउन सीप सिकाउन थालेको छ। वडा नं ३ स्थित उक्त संस्थाको महिला उपसमितिले दमौली आसपासका महिलालाई उद्यमी बनाउन सीप सिकाउन थालेको हो।
घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा फुर्सदिला महिलालाई घरमै बसी आयआर्जनमा सम्लग्न गराउने उद्देश्यसहित सहकारीले गुडिया बनाउने तालिम सञ्चालन गरेको र सो तालिममा २५ महिलाको सहभागिता रहेको छ।
सहकारीका शेयर सदस्य र शेयर सदस्य नभएका महिलालाई पनि सीपसँग जोड्ने र सीपसँगै आयआर्जन अगाडि बढाउन तालिम प्रदान गरिएको सहकारीका अध्यक्ष प्रदीपराज अधिकारीले बताए। “हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्छ, त्यसैलाई मध्यनजर गर्दै महिलाहरुलाई गुडिया बनाउने तालिम दिन लागेका हौँ”, उनले भने, “सीप सिकिसकेपछि आवश्यक पैसाको व्यवस्था पनि सहकारीमार्फत गर्न सकिन्छ।” बजारमा अहिले गुडियाको माग उच्च रहेकाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न अध्यक्ष अधिकारीले आग्रह गरे।
समय अभावका कारण आजभोलि छोटो समययावधिको तालिमको माग बढिरहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताए। गुडियाको माग उच्च रहेकाले यो तालिम प्रभावकारी हुने उनको भनाइ थियो। “धेरै लामो अवधिको तालिम लिन फुर्सद पनि नहुने भएकाले छोटोछोटो अवधिको तालिम अहिले प्रभावकारी बन्दै गइरहेको छ,” कार्यालय प्रमुख ढकालले भने, “फुर्सदको समयमा, घरमा बसी बसी, टिभी हेर्दै पनि गुडिया बनाउन सकिन्छ र यसको माग पनि उच्च छ।”
घरेलु कार्यालयले विभिन्न सङ्घसंस्था र कार्यालयकै आयोजनामा माग र रुचि अनुसारका तालिम सञ्चालन गर्दै आइरहेको उहाँको भनाइ थियो। गुडिया बिक्रीबाट दैनिक एक हजारसम्म आम्दानी हुने गरेको छ। यही चैत १५ गतेसम्म सञ्चालन हुने तालिममा आरती थापाले प्रशिक्षण दिनेछन्। तालिम दैनिक पाँच घण्टा सञ्चालन हुने महिला उपसमितिका संयोजक बेलु श्रेष्ठले जानकारी दिए।
विसं २०६४ मा स्थापित सहकारीले आफ्नै भवनबाट सेवा दिइरहेको छ। सहकारीले आफ्ना शेयर सदस्यलाई स्वरोजगार तथा उद्यमशील बनाउन सीपमूलक तालिम सञ्चालन गर्ने नीति लिएको छ। जोखिम न्यूनीकरणका लागि सदस्यहरुलाई बीमा गर्न प्रोत्साहन गर्ने, सदस्य विस्तार तथा कारोबार विस्तारलाई ध्यानमा राखी कम्तीमा एउटा सेवा केन्द्र विस्तार गर्ने, नगद सुरक्षाका लागि काउन्टर, सेफभल्ट र बाटोको बीमा कार्यक्रमलाई निरन्तरता दिने, समान प्रकृति भएका संस्थाहरुसँग मर्ज गर्नेजस्ता नीति पनि लिइएको सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए।