मकवानपुर - हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकपको अन्तिममा हेटौंडाको विजय युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्। शनिबार हेटौंडा-५, क्याम्पा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले क्यामरुनी टिमलाई हराएको हो।
आर्मीले एभिनियरलाई सडनडेथमा पराजित गरेको थियो। निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत नतिजा निकालिएको हो।
सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४-१४ प्रहार भएका थिए। आर्मीको ११ प्रहार गोल हुँदा एभिनियरका १० मात्र गोल भएको थियो। अन्तिममा प्रहार गर्न पुगेका एभिनियरका डिजिकाको प्रहार बारमा लागेर फर्किएपछि आर्मी भाग्यमानी ठहरिएको हो।
आर्मीका लागि ५१ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेका थिए। एभिनियरका डिफेन्डरको खुट्टामा अल्झिएको बललाई उनले गोलमा परिणत गरेका थिए। अतिरिक्त समयको अन्तिम केही सेकेन्ड बाँकी रहँदा एभिनियर खेलमा फर्किएको थियो।
एभिनियरका डिजिकाले हेडमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। आर्मीले उपाधिका लागि सोमबार घरेलु टोली विजय युथसँग प्रतिस्पर्धा गर्नेछ। विजय युथले शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई १-० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ। खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका दिनेश हेम्जन भएका थिए। उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरेका छन्।
एभिनियरका प्रशिक्षक आशिक थापामगरले पटक-पटक पाएको मौकालाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिएका छन्। ‘हामीले केही राम्रा मौका पाएका थियौं। त्यसलाई सदुपयोग गर्न सकेनौं। अन्तिम केही सेकेन्ड बाँकी रहँदा खेलमा फर्किएर पनि हार व्यहोर्न बाध्य भयौँ,’ मगरले भने। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अन्तिममा डिफेन्स लाइन चुक्दा खेल बराबरीमा पुगेको र जितका लागि सडनडेथसम्म कुर्नुपरेको प्रतिक्रिया दिएका छन्।
जिल्ला फुटबल संघले आयोजना गरेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप विजेताले १५ लाख र उपविजेताले १० लाख रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन्।