काठमाडौँ- फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले यो सिजन उत्कृष्ट समय बिताइरहेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडका लागि खेल्ने बेन्जेमाले लगातारको उच्च प्रदर्शनसँगै बालोन डि’ओर जित्ने अभियानलाई निरन्तर जारी राखेका छन्।
इतिहाद स्टेडियममा मंगलबार राति फ्रान्सेली फरवार्ड बेन्जेमाले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता राखे। उनको दुई गोलको बावजुत रियल म्याड्रिड घरेलु टोली म्यानचेस्टर सिटीसँग ४–३ ले पराजित हुन पुग्यो।
यो नजिताले दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहँदा सिटी केही हदसम्म अघि रहेको छ। अब दोस्रो लेगको नतिजाले नै फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ। अर्काे साता घरेलु मैदान सान्टियागो बर्नबेउमा हुने खेलमा बेन्जेमाले नतिजा उल्ट्याउन सक्नेछ। अवे गोलको अवधारणा हटेकाले रियललाई फाइनल पुग्न कम्तीमा पनि २–० को जितको खाँचो छ।
३४ वर्षीय बेन्जेमाले यो सिजन क्लब र राष्ट्रका लागि ४८ खेलमा ४६ गोल र १४ असिस्ट दिएका छन्। स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको दौडमा उनी अघि रहेका छन्। उमेरले बेन्जेमालाई ढिलो गरिरहेको छैन । । लस ब्लान्कोसको लागि उनी मुख्य हतियार नै बनेका छन्।
लिग चरणको ६ खेलमा ५ गोल गरेका उनले नकआउट चरणमा ९ गोल गरिसकेका छन्।
सुपर कोपा जिताउन महत्वपूर्ण भुमिका निभाएका र फ्रान्सलाई नेसन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भुमिका निभाएका उनी फेरि स्पेनको ला लिगाको च्याम्पियन नजिक पुगिसकेका छन्।