काठमाडौँ - र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ले र्याप ब्याटल प्रतियोगिता आयोजना गर्ने भएको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘ब्याटल भूमि’बारे जानकारी दिइएको हो।।
निर्देशक निकेश खड्काका अनुसार यो प्रतिस्पर्धा पर्फमिङ र्याप नभएर ब्याटल र्याप मात्र हो। नेपहपको श्रीपेच पर्फमिङ शैलीमा भैरहेको छ भने ब्याटल भूमि प्रतिस्पर्धा मात्र हुनेछ।
उनका अनुसार यो प्रतिस्पर्धामा भोटिङ राउन्ड नभएर निर्णायकको निर्णयमात्र लागू हुनेछ। एएनटीएफ र रअ बार्ज पनि र्याप ब्याटल कार्यक्रम हुन्।
प्रतिस्पर्धामा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागी हुन सक्नेछन्। आज बेलुका ५ बजे देखि २ जुलाईसम्म अडिसन खुल्ला रहने छ। डिजिटल अडिसनका लागि गीतको बिटमा १ मिनेटभन्दा लामो भिडिओ पठाउनुपर्नेछ।
सुदिप पोख्रेल र रोशन श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्। निर्णायकको रूपमा मानस घले, कवि-जी छन् भने अर्का एक निर्णायकको घोषणा गरिनेछ। होस्टका रूपमा कोइन्च-जी रहेका छन्।
असोसियट प्रोड्युसरको रूपमा मनोज सापकोटा रहने छन्। साउनदेखि ओएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ।
निर्माता पोखरेलले ‘नेपहप श्रीपेच’ हुँदा-हुँदै अर्को कार्यक्रम किन आवश्यक पर्यो भन्ने प्रश्नमा र्याप गायक र ब्याटल गायकबीच पनि भिन्नता हुने भएकाले पनि ‘ब्याटल भूमि’ कार्यक्रम निर्माण गर्न लागिएको बताएका छन्।
कार्यक्रममा ‘नेपहपको श्रीपेच’मा सहभागी ‘डीएनएक्स’को चर्चित गीत ‘इन्टु मिन्टु लन्डन’को अफिसियल भिडिओ ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने पनि घोषणा गरेको छ।