सिन्धुलीमा गोली लागेको अवस्थामा एक जना युवक मृत फेला परेका छन्। गएराति घ्याङलेख गाउँपालिका–१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको पेटमा गोली लागेको चोट देखिएको छ र घटनास्थलबाट बन्दुक पनि फेला परेको छ। घटना कसरी भयो भन्ने विषयमा यकिन भइसकेको छैन। गोली आफैं पड्किएको हो वा कसैले प्रहार गरेको हो भन्नेबारे फरेन्सिक परीक्षण तथा पोस्टमार्टम रिपोर्टपछि मात्रै स्पष्ट हुने एसपी लालध्वज सुवेदीले जानकारी दिए।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।