काठमाडौँ - रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ आगामी असार २ गतेदेखि भारतका १५ सहरमा प्रदर्शन हुने भएको छ। मंगलबार पश्चिम बंगालको सिलीगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा फिल्म रिलिजको औपचारिक घोषणा गरिएको हो।
प्रि-रिलिज पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ सिलीगुडी पुगेका थिए। जहाँ उनीहरुले फिल्म प्रदर्शनबारे जानकारी गराए। सुष्मा प्रोडक्सनले ‘कबड्डी ४’लाई भारतमा रिलिज गर्न लागेको हो। नेपाली फिल्मको प्रदर्शन इतिहासमा पहिलो पटक यति धेरै भारतीय सहरमा एकैपटक फिल्म प्रदर्शन गर्न लागिएको हो।
नेपालीभाषीको धेरै बसोबास रहेका सहरहरु सिलीगुडी, गुवाहाटी, दार्जिलिङ, कालिम्पोङसहितका सहरमा फिल्म देखाइन लागिएको हो। असार १ गते हुने भारत प्रिमियरमा भाग लिन दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरसहित २० जनाको टोली त्यहाँ जाने भएका छन्।
‘भारतको नेपालीभाषी क्षेत्रमा बजारको खोजीका लागि एकसाथ रिलिज गर्न लागेका हौं,’ निर्माता मणिराम पोखरेलले भने, ‘कबड्डी मात्र हैन, समग्र नेपाली फिल्मकै बजारको खोजी भारतमा हुनेछ।’ होर्डिङ बोर्ड, रोड शो र पत्रकार सम्मेलन ती सहरमा आयोजना गरिएको उनले बताएका छन्।
‘कबड्डी ४’ नेपालसहित अष्ट्रेलिया, जापान लगायतका मुलुकमा भने आगामी शुक्रबारबाट एकसाथ रिलिज हुँदैछ। फिल्ममा दयाहाङ राई, सौगात, मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ।