केनद्वारा अगुएरोको कीर्तिमान बराबरी

काठमाडौँ - इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका कप्तान तथा टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको कीर्तिमान बराबर गरेका छन्।

आइतबार चेल्सीविरुद्ध खेलको इन्ज्युरी समयमा बराबरी गोल गर्दै केनले टोलीका लागि महत्त्वपूर्ण एक अंक दिलाएका थिए। यसक्रममा उनले प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने सूचीमा अगुएरोसँग बराबरी गरेका छन्। २९ वर्षीय फरवार्डले टोटेनहमका लागि १ सय ८४ गोल गर्दै म्यानचेस्टर सिटीका पूर्व फरवार्डसँग बराबरी गरेका हुन्।

दुवै जना अब लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन्। समग्रमा केन र अगुएरो सर्वाधिक गोलकर्ता सूचीको चौथो स्थानमा रहेका छन्। तेस्रो स्थानमा रहेका एन्डी कोलको १ सय ८७ गोल रहेको छ।

सर्वाधिक गोल गर्ने कीर्तिमान भने एलन शिअररको नाममा छ। उनले न्युकासल र ब्लाकबर्न रोभार्सबाट खेल्दै २ सय ६० गोल गरेका थिए। वायन रुनीले एभर्टन र म्यानचेस्टर युनाइटेडका लागि २ सय ८ गोल गरेका छन्।

केनले गत सिजन १७ गोल गरेका थिए। त्यसअघिको सिजनमा भने केन २३ गोलसहित गोल्डेन बुट जित्न सफल रहेका थिए। उनी पछिल्लो ८ सिजनमा लिगको शीर्ष ६ गोलकर्तामा पर्दै आएका छन्। उनले यसबीचमा हरेक सिजन कम्तिमा १७ गोल गरेका छन्।

केनले हालसम्म प्रिमियर लिगको २ सय ८१ खेलमा १ सय ८४ गोल गरेका छन्। समग्रमा उनले क्लबका लागि ३ सय ८८ खेलमा २ सय ४९ गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×