बागलुङ - बागलुङका अग्रज पत्रकार विदुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ। मिर्गौला रोगबाट ग्रसित उनको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको पुँवार खड्का समाज बागलुङका उपाध्यक्ष लीलादेवी खड्काले जानकारी दिइन्।
दिवङ्गत खड्काको बिहीबार गृहजिल्लामै अन्त्येष्टि गरिने भएको छ। उनको पहलमा विसं २०२८ मा बागलुङबाट ‘धौलाश्री’ साप्ताहिक प्रकाशनमा आएको थियो। खड्का त्यसको सम्पादक थिए। विसं २०५८ मा दैनिक रुपमा प्रकाशन हुन थालेको उक्त पत्रिका विसं २०६३ मा बन्द भए पनि त्यसको अनलाइन संस्करणले निरन्तरता पाउँदै आएको थियो। खड्काले विसं २०५७ मा गठित नेपाल पत्रकार महासङ्घको तत्कालीन धवलागिरि शाखाको संयोजक भएर काम गरेका थिए।
उनका तीन छोरा छन्। खड्काकी श्रीमती गङ्गाको पनि निधन भइसकेको छ। खड्काले दिवङ्गत आमा सुमित्रा र श्रीमती गङ्गाको स्मृतिमा ‘सुगङ्गा पुरस्कार’समेत स्थापना गरेका थिए।