काठमाडौँ - रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा ‘वुमेन्स ओपन गल्फ’ प्रतियोगिता शनिबार हुने भएको छ। महिला खेलाडीले मात्रै प्रतिस्पर्धा गर्ने गरी देशमै पहिलोपल्ट गल्फ प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिता र समुदायको माध्यमबाट महिला गल्फरलाई सशक्तीकरण गर्नका लागि गरिने एकदिने प्रतियोगिता स्टेबलफोर्ड ३/४ ह्यान्डीक्यापका आधारमा खेलाइने छ। ८ देखि १६ वर्ष उमेरकाले ९ होलमा हुने जुनियरको स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् भने सिनियरले १८ होल खेल्नेछन्।
एमेच्योर गल्फर प्रतियोगि शेर्पासहित आश्रिया बानु र सरिताश्री ज्ञवालीद्वारा आयोजित प्रतियोगितामा ५० सोसल गल्फर सहभागी हुने अपेक्षा छ। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने प्रतियोगितामा विभिन्न स्पर्धाका विजेताहरूले स्कुटर, टर्की आवतजावतको हवाई टिकट, गिफ्ट भौचरसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन्।
‘फोर्ब्स ३० अन्डर ३० एसिया’ मा पनि परेकी नम्बर एक नेपाली महिला गल्फर शेर्पाले भनिन्, ‘यस्ता प्रतियोगिता नेपाली महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागी हुन र प्रतिस्पर्धा गर्न उत्साहित गर्दछ।’ महिला कप्तान बानुले आकर्षक गल्फ कोर्स र मौसमका कारण यस्ता प्रतियोगिताले खेल पर्यटनमा पनि टेवा पुर्याउने बताइएकी छिन्।