चार वर्षपछि पुनः शक्ति केन्द्रमा फर्किने प्रयाससहित कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पुनरागमन गरेका छन्। १६ पुसमा राप्रपा नेपाल परित्याग गरेका थापा यसअघि ९ पुसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पार्टी एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। एकतापछि थापा राप्रपामा दोस्रो वरियताका नेता रहने व्यवस्था विधानमा गरिएको छ। २०७८ मंसिरमा अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि असन्तुष्ट बनेका थापाले फागुन २५ गते राप्रपा छाडेर राप्रपा नेपाल गठन गरेका थिए। तर, सांगठनिक शक्ति कमजोर बन्दै गएपछि र निरन्तर निर्वाचनमा असफल भएपछि उनी पुनः मूल पार्टीमै फर्किएका हुन्।
पञ्चायत, बहुदल र गणतन्त्र तीनै कालखण्डमा शक्तिको अभ्यास गरिसकेका थापा पछिल्ला वर्षहरूमा राजनीतिक रूपमा कमजोर बनेका थिए। राप्रपा नेपालमार्फत स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा सफलता नपाएपछि राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास थालेका उनले जेनजी आन्दोलनपछिको बद्लिँदो राजनीतिक परिस्थितिलाई पनि एकताको आधार बनाएका छन्। तीनकुने हिंसात्मक घटनापछि छिन्नभिन्न बनेका राजतन्त्र पक्षधर शक्तिलाई एकीकृत गर्ने प्रयास गर्दै आएका थापा र लिङ्देनबीच निरन्तर संवादपछि अन्ततः पार्टी एकता सम्भव भएको हो। अब राप्रपामा दोस्रो वरियतामा रहेर थापाले पुनः प्रभावशाली भूमिका खेल्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न आगामी निर्वाचन र पार्टी आन्तरिक शक्ति सन्तुलनसँग जोडिएर हेर्ने विश्लेषकहरूको भनाइ छ।
.png)
.png)
.png)
.png)
.png)
.png)


