अन्तरजातीय विवाहः बेपत्ता पारिएका युवक भेटिए

सिमकोट। अन्तरजातीय विवाह गरेका कारण बेपत्ता पारिएका युवक आज प्रहरीको सम्पर्कमा आएका छन्। दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेकाले ती युवतीका माइती पक्षद्वारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारिएको थियो। घटनाका सम्बन्धमा सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजीकार्य तीव्र पार्न निर्देशन दिएको थियो। खोजी कार्यलाई तीव्र पारेपछि खार्पुनाथ प्रहरी चौकीले आज बिहान बेपत्ता पारिएका ती युवकलाई भेटाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निरीक्षक दानसिंह भण्डारीले बताए।

बाटोमा हिड्दै गरेको क्रममा खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताए। बेपत्ता पारिएका युवक अहिले प्रहरीको सम्पर्कमा रहेका छन्। सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेकै कारण युवती पक्षका माइतीले युवकपक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै कामीलाई बेपत्ता पारेका थिए। युवायुवतीको मन मिलेर गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेका हुन्। माइती पक्षले तल्लो जातकोसँग विवाह गरेको झोकमा युवती पक्षका करिब २० जनासम्मको समूहले गत मङ्सिर २९ गते रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाइ चन्द्रेको घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेका थिए।

घटनाका विषयमा प्रहरीलाई जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा आफै घटनास्थलमा पुगेर कामीको खोजी कार्यमा संलग्न रहेका थिए। बेपता पारिएका युवक प्रहरीको सम्पर्कमा आएपछि युवक कामी र युवती मल्लपक्षसँग बुझेर आवश्यक अनुसुन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरीले माइतीपक्षका बुबा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×