राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक सहमति नेताहरूको चाहनाअनुसार नभई देशलाई आवश्यक पर्ने आधारमा हुनुपर्ने बताएका छन्।
आइतबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहसँग बृहत् एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले भनेका छन्,
“सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।”
शनिबार साँझ ७ बजेदेखि लगातार भएको छलफलपछि रवि लामिछाने र बालेन शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राष्ट्रिय स्वतन्त्र पार्टीकै रहनेछ।
सहमितिअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ भने पार्टी नेतृत्व भने रवि लामिछानेकै हातमा रहनेछ।
गत मंगलबारदेखि दुवै नेताबीच निरन्तर छलफल हुँदै आएको थियो। हस्ताक्षर कार्यक्रममा रास्वपातर्फ स्वर्णिम वाग्ले, डीपी अर्याल, शिशिर खनाल, असिम शाह तथा बालेन शाह पक्षबाट कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भूपदेव शाह, सुदीप ढकाललगायतको उपस्थिति थियो।