काठमाडौं - सत्ता समीकरण फेरबदलका माहिर खेलाडी प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्डले असि्थर राजनीतिको उपयोग गर्दै २०७९ पुस १० को गठबन्धनलाई पुनः ब्युँताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार रातारात प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएर एक वर्षअघिकै समीकरण ब्युँताएर जाने निर्णय लिनुभएको हो ।
संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो एमालेलाई प्रयोग गर्दै प्रधानमन्त्रीको कुर्सी हात पारेका प्रधानमन्त्री प्रचण्डले २०७९ को आम निर्वाचनपछि तेस्रोपटक सत्ता गठबन्धन फेरबदल र १३ पटक मन्त्रीमण्डल पुनर्गठन गरिसक्नुभएको छ । गत वर्ष पुस १० मा एमाले, राप्रपा, रास्वपासहित पाँच दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले ६४ दिनमै उक्त गठबन्धन तोडेर निर्वाचनअघिकै कांग्रेस–माओवादी गठबन्धनलाई ब्युँत्याउनुभएको थियो । कांग्रेससँगको गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राजमो, जनमत, लोसपालगायत दलको समर्थन थियो ।
गत वर्ष चैत्र २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा एमालेलाई राष्ट्रपति नदिएर गठबन्धन फेरेको माओवादीले यसपटक कांग्रेसलाई राषि्ट्रयसभाको अध्यक्ष नदिने बहानामा गठबन्धन तोडेको हो ।
यद्यपि, यो खेलमा राषि्ट्रयसभा अध्यक्षको मात्रै एजेन्डा थिएन । कोशी प्रदेशमा मुख्यमन्त्री बनाउँदा कांग्रेसका एक समूहबाट पाएको धोका, राषि्ट्रयसभा निर्वाचनमा माओवादी उम्मेदवारले हारेको पीडा, कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा उल्लेखित …मुलुक माओवादीको दश वर्षे हिंसात्मक द्वन्द्वको चपेटामा परेको भन्ने वाक्यांश, सोही बैठकमा महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव र कांग्रेस नेता शंकर भण्डारीले चलाएको हिन्दु राज्य घोषणाको अभियानसमेतले काम गरेको माओवादीका नेताहरूले जिकिर गरेका छन् ।
एक वर्षमै तीनपटक गठबन्धन परिवर्तन र १३ पटक मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक हतारमा गरेको एमालेसँगको गठबन्धन कति टिक्छ भन्नेमा अन्योलता छाएको एमालेकै एकाथरी नेताहरूले बताएका छन् । सत्ताको खेलमा गठबन्धन र मन्त्रीमण्डल परिवर्तनकै कार्यसूचीलाई प्राथमिकता दिँदै आएका प्रधानमन्त्री प्रचण्डबाट देश र जनताका पक्षमा भाषणबाहेक अरू केही नआएको टिप्पणी शुरूभएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीलाई भेट्न बालकोटबाट बालुवाटार मोडिएका एमाले अध्यक्ष ओलीले समेत ठट्यौली शैलीमा चिया खान प्रधानमन्त्रीकहाँ हिँडेको बताउनुभएको थियो । अहिले ओली र प्रचण्डको प्राथमिकतामा सरकारमा कसरी भागबण्डा गर्ने भन्ने नै छ । सोमबार नै एमाले, माओवादी केन्द्र र रास्वपाका तीन मन्त्रीले बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिइसकेका छन् ।
सधैं सत्ता प्रापि्तलाई केद्रबिन्दुमा राखेर राजनीतिक चलखेलमा सकि्रय पुराना राजनीतिक दलहरूप्रति नागरिकको वितृष्णा बढिरहेको अवस्थामा पछिल्लो राजनीतिक घटनाक्रमले थप आशा जगाउन नसक्ने राजनीतिक विश्लेषक शंकर तिवारीले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
मन्त्रीपरिषद् विस्तारमै वर्ष बित्यो
आम निर्वाचनपछि चुनावी गठबन्धन तोड्दै एमालेको मुख्य सहयोगमा पाँच दलीय गठबन्धन बनाएर माओवादी अध्यक्ष प्रचण्डले २०७९ पुस ११ मा पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो । सोही दिन उहाँले नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र रवि लामिछने समि्मलित सानो मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो ।
यस बीचमा भएका विभिन्न राजनीतिक उतार चढावका बीच प्रधानमन्त्री दाहालले सोमबार आफ्नो क्याबिनेटमा १३ औं पटक मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ । २०७९ माघ १० मा दोस्रोपटक, माघ १४ मा तेस्रो, माघ २३ मा चौथो, फागुन १४ मा पाँचाैं, फागुन १६ मा छैठौं, चैत्र १७ मा सातौंपटक मन्त्रीमण्डल विस्तार गरेका दाहालले २०८० वैशाख ३ मा आठौं, वैशाख २१ मा नवौं, वैशाख २४ मा १० औं, जेठ ९ मा ११औं र साउन २८ मा १२औंपटक मनि्त्रपरिषद् विस्तार गर्नुभएको थियो । एमालेसँगको पुनर्मिलन गठबन्धनपश्चात् सोमबार प्रधानमन्त्री दाहालले १३औंपटक मनि्त्रपरिषद् पुनर्गठन गर्नुभएको हो । नेपाल समाचारपत्रबाट