काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौता विरुद्ध दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा सुनुवाइ हुने भएको हो।
अधिवक्ता प्रेमराज सिलवाल र सुदीप भण्डारीसहितले गत पुस ३ गते छुट्टाछुट्टै दुई वटा रिट दायर गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाइएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले सरकार र जेनजी प्रतिनिधिबीच मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो। उक्त सम्झौताका प्रावधान कार्यान्वयन भएमा राज्य संरचना र संवैधानिक अभ्यासमा दीर्घकालीन असर पर्ने जिकिर गर्दै रिट दायर गरिएको हो।
रिट निवेदकहरूले अन्तिम फैसला नआउँदासम्म सम्झौताका प्रावधानहरू कार्यान्वयन नगर्न सरकारलाई रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।