इलाममा जङ्गली जनावरको आक्रमण बढ्दो; सिंगो गाउँ त्रस्त

काठमाडौँ । सात वर्षका युनिक सुवेदी डेढघण्टा धाएर निजी विद्यालय आवतजावत गर्ने गर्छन्।

इलामको माइजोगमाईका ३ नामसालिङका उकालो बाटो धाएर शुक्रबारे बजारमा रहेको पशुपति एकाडेमीमा कक्षा २ का अध्ययन गर्ने उनी विद्यालय जाँदा कसैको सहारामा जाने गर्छन्। हाल उनीजस्तै धेरै विद्यार्थी एकसाथ विद्यालय जाने गरेका छन्। प्रायः उनीहरू स्थानीय शिक्षिका देवी सुवेदी अधिकारीसँग विद्यालय जाने गरेका छन्। कारण हो जङ्गली जनावरको त्रास। गाउँमा पछिल्लो समय जङ्गली जनावरले आक्रमण गर्न थालेपछि विद्यार्थी हुल बाँधिएर विद्यालय जान बाध्य छन्। त्रसित भएका विद्यार्थी जङ्गलको बाटो हुँदै विद्यालय जानुपर्ने बाध्यता छ।

विद्यालयकी शिक्षिका विद्यालय जान नसकेका दिन घरका ठूला मान्छेको सहारामा विद्यलय पठाउने गरिएको सो क्षेत्रका अभिभावकको भनाइ छ। विद्यार्थी मात्र नभएर सो क्षेत्रमा क्रमैसँगै बँदेल चितुवा र भालुलगायतका जङ्गली जनावर निस्किन थालेपछि सिंगो गाउँ नै चिन्तित बनेको छ। सो क्षेत्रमा किसान जङ्गली जनावारका कारण त्रसित मात्र हैन बाली नै सखाप गर्न थालेपछि गाउँले चिन्तित भएका छन्। लगातार बँदेल, चितुवा र भालु जस्ता जनावारले खेतीबारी र मान्छेलाई नै आक्रमण गर्न थालेपछि त्रसित भएका हुन्।

पछिल्लो समय किसानले लगाएको आलुलगायतका खेतबारीमा बँदेलको हुल नै पसेर खेतीबारी नष्ट गर्न थालेपछि समस्या भएको माईजोगमाई थुम्केकका किसान तेजबहादुर कठेतले बताए। उनका अनुसार रातका समयमा बँदेलको हुल नै पसेर बाली नष्ट गर्ने गरेको छ। किसानले लगाएको आलुको बीउ बँदेलको सुँडले जोतेर बाहिर निकाल्ने र खाने गरेको छ। भर्खरै रोपिएको आलुको बीउ पनि खान थालेपछि आफ्नो साँवा नै गुमेको सो क्षेत्रका किसानको भनाइ छ। रातको समयमा बँदेलको हुल नै पस्ने भएकाले बाली जोगाउन समस्या भएको उनीहरूको भनाइ छ। स्थानीय सरकारलाई यस बारेमा पटक–पटक जानकारी गराए पनि बेवास्ता गर्ने गरेको उनीहरुको भनाइ छ। यस सिजनमा बीउ आलु खाने र उम्रिएपछि फलुञ्जेलसम्म आलुको चिनोबानो नहुँने उनीहरूको दुखेसो छ।

गाउँपालिकाको थुम्के, जौबारी, प्याङ, नामसालिङ लगायतका क्षेत्रमा बँदेलले बढी दुःख दिने गरेको छ। सो क्षेत्रमा बँदेलले मात्र हैन चितुवा र भालुको आक्रमणबाट किसानले पालेका बाख्रासमेत आक्रमणमा पर्न थालेका छन्। चितुवा र भालुले बाख्रा खान थालेपछि किसान थप चिन्तित भएका छन्। गएको बर्खाबाट देखा परेको चितुवाले माईजोगमाई गाउँपालिका ३ नामसालिङका किसानले पालेका बाख्रा खान थालेको छ। यसका कारण सुरेश सुवेदीलगायत धेरै किसानका बाख्रा मारेको बताइएको छ। चितुवाको आक्रमण बढ्न थालेपछि किसानले बेँसीमा पालेका बाख्रालगायत गाईका बाच्छा जोगाउन समस्या भएको बताउने गरेका छन्। खोरमा नै पसेर आक्रमण गर्न थालेपछि किसानलाई आफ्ना चौपाय जोगाउन समस्या भएको छ।

चितुवाले मान्छेलाईसमेत आक्रमण गर्ने भएकाले स्थानीयवासीले त्यसको व्यवस्थापनमा सरकार लाग्नुपर्ने बताउँदै आएका छन्। बाँदर, मृग, खरायोलगायतका जङ्गली जनावारले किसानले लगाएको खेती खाएर नष्ट गरिरहेकै समयमा पछिल्लो समय भालुलेसमेत दुख दिन थालेपछि चिन्ता थपिएको छ। भालुले मान्छेलाई नै आक्रमण गर्न थालेपछि समस्या भएको छ। विद्यार्थी विद्यालय आवतजावत गर्दासमेत एकै समयमा हुल बाँधिएर हिँड्न थालेका छन्। गाउँमा भालुको आक्रमण बढ्न थालेपछि गाउँमा त्रास फैलिएको छ। भालुको नङ्ग्राबाट स्थानीयवासी घाइते भएका छन्।

जङ्गली जनावारको आक्रमणबाट जोगाउन स्थानीयवासी प्रदेश र सङ्घीय सरकारसँग मागसमेत गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×