काठमाडौँ - कलाकार सन्तोष पन्तद्वारा निर्मित नेपाली फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट विदेश प्रदर्शनको यात्रा प्रारम्भ गरेको छ। यो फिल्म आइतबार अर्थात १३ नोभेम्बरका दिनदेखि अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुँदैछ।
निर्देशक साकार पन्तका अनुसार १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा फिल्म प्रदर्शन हुनेछ भने २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन हुने तय भइसकेको छ।
गत असोज २८ गतेदेखि नेपालमा प्रदर्शन भएको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। अमेरिकाका अन्य शहरहरुमा पनि फिल्म क्रमशः प्रदर्शन हुने तयारीमा रहेको निर्देशक साकारले जानकारी दिए।
उनका अनुसार अमेरिकासँगै फिल्म २५ नोभेम्बरमा अष्ट्रेलियाको क्यासुअरिनामा प्रीमियर हुँदैछ। त्यसपछि फ्युजन मिडिया प्रोडक्शनले अन्य शहरहरुमा ‘हिजो आजका कुरा’ प्रदर्शन गर्नेछ।
‘विदेशमा हिजो आजका कुराप्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ,’ निर्देशक साकार भन्छन् - अमेरिका,अष्ट्रेलिया झै क्यानडा,युरोप,जापानलगायत बिश्वका थुप्रै देशबाट फिल्मको डिमाण्ड आएको छ। हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौँ।’
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा सन्तोष पन्तको हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन्। रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र रहेका छन्।
फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ।