अस्पताल बनाउन जग्गादान

रसुवा । पर्यटकीय क्षेत्र लाङ्टाङमा बनाउन लागिएको अस्पताल भवन निर्माणका लागि स्थानीय बासिन्दाले जग्गादान गरेका छन् । मकवानपुर, हेटौँडामा सञ्चालित सिद्धस्थल रूरल कम्युनिटी हस्पिटलले आफ्नो शाखाका रूपमा मुण्डु क्षेत्रमा अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि  स्थानीयवासीले दुई रोपनी  पाँच आना दुई दाम जग्गा अस्पतालका नाउँमा निःशुल्क दिएका छन् । 

जग्गा दान गर्नेमा साविक लाङ्टाङ गाविस वडा नं २  हाल गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ निवासी सोनामदोर्जे तामाङ, तेन्जेन स्याङ्बा र छिरिङदावा तामाङ रहेको  लाङ्टाङका समाजसेवी ढिण्डुप तामाङले जानकारी दिए । दानबापत प्राप्त  कित्ता नम्बर १८५ ,१९२ र १९५ को जग्गा रजिष्ट्रेशन पारित भई अस्पतालका नाउँमा जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिसकिएको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष तथा रसुवा ज्याङ्लाङ निवासी बलराम न्यौपानेका प्रस्तावमा मुण्डुमा अस्पताल निर्माण गर्न गृहकार्य अगाडि बढाइएको सिद्धस्थल रूरल कम्युनिटी हस्पिटल  अस्पतालका सञ्चालक दामोदरप्रसाद गौतमले बताए । हाल अमेरिकामा बस्ने डा अवन गौतमको समेत सहयोग रहने अस्पताल आगामी २०८० सालभित्र सञ्चालनमा ल्याइने लक्ष्य रहेको बताइन्छ । भवन निर्माणका लागि आर्किटेक्ट इन्जिनियर अनिल शर्माले  डिजाइन गर्दै छन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×