काठमाडौँ - विश्वकपमा सबभन्दा बढी पहिलो खेलमा हार व्यहोर्ने टिम हो स्पेन। स्पेनले विश्वकपमा ७ पटक पहिलो खेलमा हारेको इतिहास छ। त्यसैले समूह ईअन्तर्गत कोस्टारिकाविरुद्ध खेल्दा स्पेनलाई सो इतिहासले पक्कै झकझकाउनेछ।
सन् २००८ देखि सन् २०१२ को अन्तरालमा २ पटक युरोपियन र १ पटक विश्व च्याम्पियन बनेको स्पेनले त्यसपछि विश्वकपको फाइनलमा स्थान बनाउन सकेको छैन। तर यस पटक स्पेनको टिम फरक छ। जेरार्ड पिक, एन्द्रियज इनिएस्टा, डेभिड सिल्भा होइन पेड्री गोन्जालेज, गाभी पाइज र निको विलियम्सनजस्ता युवा खेलाडीले स्पेनका दाबेदारी कायम राख्नेछन्।
सो टिममा १९ वर्षीय खेलाडीद्वय येरेमी पिनो र आन्सु फाटी पनि रहेका छन्। स्पेनको टिममा आधाभन्दा बढी खेलाडी २५ वर्षभन्दा कम उमेरका परेका छन्। तर यो टिममा निकै क्षमता छ। यद्यपि स्पेनका लागि छनोटमा ४ गोल गर्ने स्ट्राइकर फरान टोरेज कोस्टारिकाविरुद्ध हेर्नलायक खेलाडीका रूपमा रहनेछन्।
स्पेनका प्रशिक्षक लुइस इनरिकले आफ्नो टिमको लक्ष्य यस विश्वकपमा ७ खेल खेल्ने रहेको बताएका छन्। स्पेनको प्रतिद्वन्दी कोस्टारिकाले विश्वकपमा अहिलेसम्म मात्र ५ खेल जितेको छ। जसमध्ये ३ खेल कोस्टारिकाले पहिलो खेलमै हासिल गरेको हो। त्यसैले पनि कोस्टारिका पुनः आफ्नो टिम पहिलो खेलमा भाग्यमानी साबित हुने आशा गर्दैछ।
यसैगरी सन् २०१४ मा अन्तिम ८ मा नेदरल्यान्ड्ससँग पेनाल्टी सुटआउटमा हारेपछि मात्र कोस्टारिकाको यात्रा सकिएको थियो। कोस्टारिका यस पटक यस्तै प्रदर्शन दोहोर्याउने अपेक्षामा रहेको छ।
कोस्टारिकाका प्रशिक्षक लुइस फर्नान्डो सुवारेजले स्पेनको खेल्ने शैलीको प्रशंसा गर्दै आफ्नो टिम पनि कम नभएको प्रतिक्रिया दिएका छन्। कोस्टारिका लगातार तेस्रो पटक विश्वपकप खेल्दैछ।